बिहिवार, जेठ ५, २०७९
भेग बहादुर थापा मगर
दाङ: देशकै सवैभन्दा ठूलो उपमहानगरपालिकाका रुपमा रहेको घोराही उपमहानगरपालिकामा नेकपा एमालेले सानदार जित हासिल गरेको छ । १९ वटा वडा रहेको घोराहीमा गठवन्धनलाई निकै पछि पार्दै नेकपा एमालेले मेयर, उपमेयर सहित बहुमत वडा जितेको छ । घोराहीको मेयरमा दोस्रो कार्यकालका लगि एमालेका नरुलाल चौधरी निर्बाचित हुनुभएको छ भने उप प्रमुखमा हुमा डिसी निर्वाचित हुनुभएको छ । १९ वडामध्य १३ वडामा एमालेले जित निकालेको छ ।
चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई ५ हजार ३३० मतले हराउदै विजयी हुनुभएको हो । चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत प्राप्त गर्नुभयो । । चौधरीले ०७४ को निर्वाचनमा पनि काँग्रेसका भुपबहादुर डाँगीलाई ५ हजार मत अन्तरले हराउनुभएको थियो ।
सुरु वडा नं. १९ को मतगणना गर्दा गठबन्धनका शर्मा अघि हुनुहुन्थ्यो भने अन्य वडाको गणना गर्न थालेपछि चौधरी अघि बढ्नुभएको थियो । वडा नं १९ र १८ को मत गणना गर्दा शर्माको अग्रता थियो । तर पछि वडा नं १४ र १ को मत गणना गर्दा शर्मालाई पछि पार्दै आफ्नो चौधरीले आफ्नो अग्रतालाई बढाउँदै लग्नुभएको थियो ।
यस्तै नगर उपप्रमुखमा पनि एमालेकै हुमा डिसी विजयी थोरै मतान्तरले विजयी हुनुभयो । डिसीले गठबन्धनबाट काँग्रेसका नगर उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी हुनुभयो । डिसीले ३ हजार ४०३ मत प्राप्त गर्दा डाँगीले ३ हजार ३५४ मत प्राप्त गर्नुभयो ।
डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रह्यो । नगरउपप्रमुखमा पनि सुरुवाति चरणमा डाँगीले भारी मतले डिसीलाई पछि पार्नुभएको थियो । तर वडा नं १, १४ मा मतगणना गरेपछि भने डाँगी पछाडि पर्नुभयो । डाँगी पछाडि परेपनि भारी मतको अन्तर भने भएको थिएन । अन्तिम मत परिणाम सार्वजनिक हुनु अघिसम्म पनि डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रह्यो ।
घोराहीमा एमालेले १९ वटा मध्ये १३ वडा जितेको छ भने गठबन्धनबाट कांग्रेसले ५ र माओवादीले १ वडा जितेको छ । घोराहीमा काँग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए । निर्वाचन अघि पहिलेको निर्वाचनमा पाएको मतका आधारमा गठवन्धनले सवै वडा सहित प्रमुख उप प्रमुख जित्ने दावी गर्दैै आएको थियो । नेकपा एमालेका महासचिव शंकर पोखरेलको क्षेत्र समेत रहेको घोराहीमा नेकपा एमालेको सानदार जितले भविश्यको राजनीतिलाई प्रभावित गर्ने बताइन्छ ।( eraptipost.com)