२ मंसिर बौनिया कैलाली । कैलालीमा चरा फोटोग्राफी प्रतियोगिताको आयोजना गरिने भएको छ । जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको आयोजनमा मङ्सिर १६ र १७ गते सो प्रतियोगिता आयोजना हुने जनाइएको छ ।
जैविक विविधता सँगै चराहरूको महत्त्वपूर्ण वासस्थानका रूपमा रहेको घोडाघोडी ताल क्षेत्रलाई चरा पर्यटनका रूपमा विकास गर्न प्रतियोगिताको आयोजना गरिएको बोर्डका उपाध्यक्ष दयाराम चौधरीले बताए । चरा सँगै यस क्षेत्रको थप प्रचार प्रसार र पर्यटन विकासका लागी देशभरिबाट फोटोग्राफरहरूलाई आमन्त्रित गरिने छ । उनले भने,… “हाल सम्म यस क्षेत्रमा हुन नसकेको काम पहिलो पटक हामीले गर्दै छौ । यसले घोडाघोडीको पर्यटन विकासमा ठुलो मदत पुग्ने विश्वास पनि गरेका छौ ।”
प्रतियोगिताको विजेताले नगद ३० हजार, उपविजेताले क्रमशः २० हजार र १० हजार प्राप्त गर्नेछन् । देशभरिबाट ३० बढीको सहभागिता रहने अनुमान गरिएको सो प्रतियोगितामा सहभागी हुन चाहानेले मङ्सिर १४ गते भित्र आफ्नो नाम दर्ता गर्न आयोजकले आग्रह समेत गरेको छ ।



